असार ९,काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली जनताको महान् सङ्घर्ष र बलिदानको पृष्ठभूमिमा उभिएको बताउनुभएको छ । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै मन्त्री तामाङले सो कुरा बताउनुभएको हो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राख्नुहुँदै साहित्यकार, अन्वेषकलगायत वाङ्मय क्षेत्रका प्रतिभाहरुको सम्मान गर्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्ने देशको सर्वोच्च प्राज्ञिक संस्था भएको बताउनुभयो ।
नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्धन र विकासमा सरकार सचेत र प्रतिबद्ध रहेको भन्दै उहाँले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न र बजेटको व्यवस्था गर्ने प्रयास गरिरहेको छु । प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवर्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातवटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृति, ऐतिहासिक, भाषिक, साहित्यिक विषयकको खोज अन्वेषण गरी दिग्दर्शनहरू प्रकाशित गर्ने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने काम गरिरहेकाले त्यसमा सरकारकोतर्फबाट भरपूर सहयोग रहने उहाँले बिश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो,प्रज्ञा प्रतिष्ठानले परम्परागत ज्ञान, चिन्तन, सिर्जनाका साथसाथै परिवर्तित सन्दर्भमा जनयुद्ध, जनआन्दोलनलगायत नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्न दायित्व यसले वहन गर्नुपर्ने छ । नेपाल प्रज्ञा–प्रतिष्ठान वि.सं. २०१४ मा नेपाली साहित्य–कला एकेडेमीका नाममा स्थापना भएको थियो भने नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले ६७ औँ वार्षिक उत्सवका अवसरमा २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव गरेको थियो । विभिन्न मातृभाषाका करिब ४ दर्जन कवितासहित ६०० भन्दा बढी कविहरूले राष्ट्रिय कविता महोत्सवमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्