गोरखा। द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मीबजार गोरखाका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको राजिनामा माग गरिएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख दुवाडीले क्याम्पसलाई राजनीतिकरण गरेको र उहाँकै अमर्यादित, गैह्रजिम्मेवार र कानुन विपरितको दुरासयपूर्ण अभिव्यक्तिका कारण क्याम्पसमा कठिन परिस्थितीको सृजना भएको भन्दै तत्काल राजिनामा दिन माग गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) गोरखाका जिल्ला सचिव सुलभ अम्गाईद्धारा हस्ताक्षरित बिज्ञप्तिमा दुवाडीको अभिव्यक्तिले नेपालको बर्तमान संविधान माथि ठाडो चुनौती मात्र दिएको नभई गणतन्त्र प्राप्तीका लागि भएका बलिदानीपूर्ण सर्घषको अपमान र जनयुद्धको जगमा प्राप्त उपलब्धी माथी धावा वोलेको अनुभूति संगठन र सिंगो देशभक्त, गणतन्त्रबादी र संघियता पक्षधरहरुलाई भएको उल्लेख गरिएको छ ।
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक शिष्टाचार र नैतिकताको प्रतिकुल हुनेगरी कार्य गर्ने छुट यो संविधानले कसैलाई दिएको छैन, बिज्ञप्तिमा भनिएको छ, त्यसमाथि क्याम्पस प्रमुख जस्तो जिम्मेवार व्यक्तिबाट भएको निन्दनीय हर्कतका बिषयमा हाम्रो संगठनले आफ्नो अभिव्यक्ति सच्याउन उहाँलाई पटक–पटक लिखित र मौखिक आग्रह गर्दा उल्टै राजनीतिक आस्थाका आधारमा कसैको उक्साहटमा घटनालाई अतिरन्जित बनाउदै राजनीतिकरण गर्न खोजिएको स्पस्ट छ ।’
बिज्ञप्तिमा क्याम्पस प्रमुखले दुवाडीले आफ्नो गल्ती कमजोरी लुकाउन बिधार्थीहरु माथि आफुलाई कुटपिट आरोप लगाएर भ्रम फैलाएको आरोप समेत लगाइएको छ । ‘क्याम्पसमा तोडफोड गर्ने र कुटपिट गर्ने हाम्रो संगठनको कुनै नीति छैन र त्यस्तो कार्य गरिएको छैन, बिज्ञप्तिमा भनिएको छ, ‘भ्रामक प्रचारका बिरुद्ध नलाग्न समेत सवैलाई अपिल समेत गर्दछौ ।’
अनेरास्ववियू (क्रान्तिकारी) ले बिभिन्न वाहाना बनाएर क्याम्पसमा तालाबन्दी गरिएको र बिधार्थीहरुको पठनपाठन गर्न पाउने अधिकार समेत खोसिएको भन्दै तत्काल पठनपाठन सूचारु गर्न समेत अपिल गरेको छ । । आफूहरुको मागको वेवास्त गरिएको संगठन थप कडा सर्घषमा उत्रन बाध्य हुने भन्दै उत्पन्न हुने सवै परिस्थितिको जिम्मेवारी स्वयम क्याम्पस प्रमुख दुवाडीले नै लिनुपर्ने बिज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
यहीँ फागुन १ गते सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णयको बिरोधमा क्याम्पस प्रमुख दुवाडीले कथित जनयुद्ध शब्दलाई बैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा लेखेपछि अनेरास्ववियू (क्रान्तिकारी) ले त्यसको कडा बिरोध गर्दै आएको छ । घटनालाई लिएर क्याम्पस प्रमुख दुवाडीमाथि हातपात भएको भन्दै दोषीलाई कारवाहीको माग गदै क्याम्पसमा तालाबन्दी समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्